फागुनको महिनाको सुरुवात भइसकेको थियो । काठमाडौँको जाडोले पनि लगभग बिदा लिन लागेको महशुस भइरहेको थियो ।
जाडोमा कहीँ कतै पनि नगएकाले छोरीको रोजाइमा हाम्रो छोटो गन्तव्य ललितपुरको गोदावरी बन्न पुग्यो । शनिबारकोे दिन बाबा र छोरी दुबैको छुट्टी परेकाले हामी बिहान सबेरै उठ्यौ ।
बिहानको नास्ता र सरसफाइ, नुहाइधुवाइ सबै काम सकिदाँ करिब १०ः३० बजिसकेको थियो । खाना खाइ हिँड्ने बेलामा करिब ११ बजेको थियो ।
आफ्नै साधन भएकाले हामीलाई गाडी कुर्नुपर्ने झन्झट त थिएन । हामी अनामनगरबाट गोदावरीको बाटो तर्फ सोझियौँ ।
शनिबारको दिन भएकाले बाटोमा चहलपहल अघिपछिको भन्दा कम नै थियो । माइतिघरबाट थापाथली हुँदै ललितपुरतर्फ मोडियौँ । जाउलाखेलको बाटो हुँदै गइरहेका थियौँ । ललितपुरको बाटो अहिलेको अवस्थामा निकै सुन्दर र व्यवस्थित देखिन्थे । फरकिलो, सफा र व्यवस्थित बाटो देख्दा एकछिन त हामी विदेशमा छौँ कि जस्तो भान हुन्थ्यो ।
पाटन देखि सिधैँ हामी जादैँ थियौँ बाटोमा स्ट्रबेरी देख्नासाथ छोरीको माग भयो । स्ट्रबेरी, पानी, जुस र वाइवाइ चाउचाउ ड्राइफुड मात्र किन्यौँ । प्राय हामी बाहिरको खानेकुरा नखाने भएकै कारण चाउचाउ र जुस किन्न नौलो अनुभव लाग्यो । त्यहाँबाट सातदोबाटो हुँदै हाम्रो यात्रा गोदावरीतर्फ लम्किरह्यो । लिटिल एन्जल विद्यायलसम्म त खासै नौलो थिएन । त्यसपछिको यात्रा भने हामीलाई नौलो नै थियो । किनभने गोदावरी हाम्रो पहिलो भ्रमण थियो । कतै साँघुरा बाटो त कतै फराकिला बाटो ।
जति जति गोदावरी तर्फ गइन्छ त्यति नै केहि खाली जमिन पनि देखिन्थे । हुन त हामी अटेसमटेसबाट निस्किएको भएर होला अलि खुल्ला खुल्ला जस्तो देखिन्थो । जब गोदावरी नजिकै पुग्यौँ मनमा अर्कै किसिमको आनन्द र त्यो पारिलो घामको न्यानोपनले मन आनन्द थियो । बाटोमा बदाम र सुन्तला अनि स्याउ पनि किन्यौँ ।
गोदावरीको त्यो ठुलो क्षेत्रमा हामी पहिले कता जाने भन्ने निर्णय गर्यौँ । छोरीले कक्षा दुईमा हुँदा विद्यालयले लगेको गोदावरीको भ्रमण कारणबस जान नपाएको गुनासो गरेकी थिइन् । उनकै अनुसार पहिले बोटनी गार्डेन जाने कुरामा सहमत भयो । हामी बोटनी गार्डेनतर्फ लाग्यौँ । टिकेट लिइयो र भित्र प्रवेश गरियो । त्यहाँको छुट्टै आनन्द र न्यानो घामको किरणसँगै चारैतिर घुमियो ।
भर्खर पात झरेर पलाउँदै गरेका बोटबिरुवा तथा त्यहाँको हरियाली वातावरणले अन्त कतै जान मन गरेन । चउरमा सबै मानिसहरु न्यानो घाममा रमाइरहेका तथा मोबाइ तथा क्यामेराबाट सेल्फीको मज्जा लिइरहेका थिए । अझ टिनएजरका युवायुवतीहरु त पानीको होली खेल्दै सेल्फीमा व्यस्त देखिन्थे ।
बोटबिरुवाको झाडीमा हाम्रो बाबा छोरीको लुकामारीले त मन फुरङग भएको थियो । ति सबै दृश्यहरु हामीले पनि क्यामरामा कैद गर्यौँ ता कि भविष्यमा यी रमाइला पलको यादमा हर्न सकियोस भनेर । चारै तिरको रमणीय वातावरण र ति फुलेका कोमल फूलहरुको दृश्यहरु कैद गर्न पाइरहेका थियौँ ।
बोटनी गार्डेनमा राखिएको फूल तथा हरियाली वातावरणले हामीलाई कतै जान मन गरेको थिएन । शनिबारको दिन भएर होला त्यहाँ मानिसहरुको भिड थियो । तर धेरै क्षेत्रफल भएकाले होला जति मानिसहरु भए पनि भिडको असर थिएन ।
मानिसहरु आ आफ्नैे सुरमा आवतजावत गर्नुको साथै फूलतिर र हरियालीतिर लिन भएका जस्ता देखिन्थे । काठमाडौंको भिडभाडबाट मुक्ति पाएको जस्तो भाव हुन्थ्यो । सबै मानिसहरु खुसी र उमङ् मा रमाइरहेका थिए । लाग्थ्यो स्वर्ग त यहाँ पो रहेछ ।
सबै खुसी, सबै दङ्ग र प्रफुल्लम मुद्रामा आ आफ्नो जोसमा फोटो खिची खिची रमाइरहेका थिए । कोही क्याम्यारा म्यान, चारैतिरको दृश्य हेरी हेरी क्यामरामा दृश्य कैद गर्न व्यस्त थिए । जार र बोतलको पानी पिउन बाध्य हामी त्यहाँ अलि पर मुलबाट धारामा आएको खानेपानी पिउँदा बाल्यकालको झल्झल्ती याद आइरहेको थियो ।
चउरमा बसेर बदाम र सुन्तला खानुको अर्को मज्जाले अब घरतिर फर्किनुपर्छ भन्ने सम्म बिर्सिएका थियौँ । छोरीको त्यो उत्साह र रमाएको मन देखेर हामीलाई अनामनगर आउन पटक्कै मन भने थिएन । तर के गर्नु घडीले ४ः३० बजाइसकेछ । बिस्तारै अब हामी आफ्नै पुरानो गन्तव्यतिर लाग्ने कोसिस गर्यौ । फर्केर घरसम्म आइपुग्दा पनि त्यहीँ ठाउँको रमाइलो अनुभव साटासाट गर्दे आयौँ ।
