मार्कण्डेय पुराणका अनुसार अघि पूर्वकालमा महिषासुर नामक एक अत्यन्त शक्तिशाली दैत्य थियो । उसको नेतृत्वमा रहेको दैत्य पक्ष र देवराज इन्द्रको नेतृत्वमा रहेको देवपक्षबीच सैयौ वर्षसम्म घमासान युद्ध भयो र त्यस युद्धमा दैत्यपक्षले देवपक्षलाई नराम्ररी परास्त ग¥यो । स्वर्गासनबाट इन्द्र लखेटिए र इन्द्रको त्यो सिंहासन महिषासुरले कब्जा ग¥यो । सम्पूर्ण देवगण आ–आफ्नो स्थानबाट विस्थापित भएर अनेक कष्ठ भोग्दैै हिमाली गुफा–कन्दरातिर भौंतारिन विवश भए । अन्तमा ब्रह्मासहित सम्पूर्ण देवताहरु भगवान विष्णु र शिवसमक्ष आपूmलाई परेको विपत्ति हटाई स्वस्थान दिलाइदिन अनुरोध गर्न पुगे र उनीहरुको पुकार सुनिसकेपछि भगवान विष्णु र शिव दैत्यप्रति अत्यन्त क्रोधित भए जस्लेगर्दा उनीहरुको मुख र आँखीभुइँ क्रोधले खुम्चियो । त्यसपछि चक्रपाणि विष्णुको मुखबाट एकाएक एक महान् तेज प्रकट भयो भने शिव, ब्रह्मा, इन्द्रलगायतका अन्य देवताको शरीरबाट पनि एवं प्रकारले अलग–अलग दिव्य तेज प्रकट भयो । ती अलग–अलग तेजपुञ्ज एकत्र भई अन्त्यमा पर्वत समान एक जाज्वल्यमान पुञ्ज तयार भयो र त्यसबाट तीनै लोकलाई प्रकाशित गर्दै एक अत्यन्त सुन्दरी नारी (देवी) प्रकट भइन् । उनको तेजस्वित्व, शक्ति र सौन्दर्य अरु कसैसँग तुलना गर्न लायक थिएन ।
यसरी देवताहरूको सामूहिक प्रयासबाट प्रकट भएकी देवीमा त्यहाँ उपस्थित भगवान शिवको तेजबाट मुख, मृत्युदेव यमको तेजबाट शिरमा कपाल, भगवान विष्णुको तेजबाट भुजाहरु, ब्रह्माको तेजबाट चरण, अग्निदेवको तेजबाट तीन चम्किला नेत्र आदि प्रकट भए भने दुर्गा भगवतीलाई आफ्ना परम शत्रु महिषासुरको नाश गर्नका लागि अस्त्रशस्त्रले सुसज्जित गर्ने गराउने सिलसिलामा विष्णुले उनलाई चक्र, शिवले त्रिशुल, इन्द्रले गधा, कालले तरवार, वायुले धनुवाण, वरूणले शंख, समुद्रले हिमालय पर्वतले सवारी साधनको रूपमा सिंह र वहुमूल्य रत्नहरू प्रदान गरी अस्त्रशस्त्र र आभूषणले सुसज्जित बनाए ।
तब ती प्रकाशमयी देवीलाई सबै देवताले आ–आफ्नो एक–एक अमोध अस्त्र–शस्त्र पनि प्रदान गरे । यसरी देवताको अंशबाट तेज र अनुग्रहबाट शरीर एवं शास्त्रास्त्र प्राप्त गरिसकेपछि अत्यन्त तेजस्वी र शक्तिशालिनी बनेकी ती देवीले घोर अट्टाहासपूर्वक उच्चस्वरले गर्जना गरिन् । तिनको भयङ्कर नादबाट सम्पूर्ण धर्ती–आकाश गुञ्जायमान भयो। यसबाट पृथ्वी डोलायमान भइन्, पर्वत हल्लिन पुगे, समुद्र छचल्कियो र सम्पूर्ण देवताहरु प्रसन्न बनी उत्साहित भएर सिंहवाहिनी भवानीको भक्तिपूर्वक स्तुति गरे ।
त्यसबेला त्यहाँ उत्पन्न सिंहवाहिनी देवीको गर्जन सुनेर दैत्य महिषासुर अनेकौ अस्त्रहरुले सुसज्जित आफ्नो विशाल सेना लिएर उनी भएतर्पm आयो । महिषासुरले महाशक्ति देवीको अगाडि पुगी उनीसित युद्धका लागि लल्का¥यो र दुवै पक्षबीच घोर घमसान युध्द शुरु भयो । तर देवताहरुको दिव्यतेजोंशबाट प्रकट भएकी सिंहवाहिनी भगवतीको अगाडि दैत्यपक्ष धेरै बेर टिक्न सकेन । भगवतीदेवी र उनको बलिष्ठ वाहन सिंहको क्रोधका अगाडि महिषासुरका सम्पूर्ण सेनापति तथा सैनिकहरु क्षणभरमै स्वाहा भए । त्यस युद्धमा निमेसभरमा महिषासुरका चिक्षुर, ताम्र, दुर्धर, दुर्मुख आदि चौध सेनापतिहरु मारिए । देवीले दैत्यहरुको संहार गरेकोमा देवताहरु उत्साहित हुँदै शंख, नगाडा, मृदङ्ग आदि विविध वाद्ययन्त्र बजाउन थाले । उता देवीलाई प्रत्यक्ष रुपमा परास्त गर्न नसकिने ठानी महिषासुर भैँसी, हात्ती आदि विविध रुप धारण गरी छलपूर्वक उनीमाथि जाइलाग्यो । तर त्यसबाट पनि उसको केही जोड चलेन । देवीले त्यसलाई शूल र तरवार प्रयोग गरी मस्तक छिनालेर संहार गरिन् । त्यसपछि सम्पूर्ण देवताहरुले प्रसन्न भएर देवीको स्तुति गरे ।
देवीले पनि सन्तुष्ट भएर देवताहरुलाई वर माग्न आज्ञा दिइन् । देवताहरुले ‘जबजब हामी हजूरको शरणमा पर्छांै या हजूरको स्मरण गर्छौं, तबतब हजूरले दर्शन दिएर हाम्रो संकट पार लगाइदिनुहोस् र जो जसले श्रद्धापूर्वक हजूरको स्तोत्र पाठ गर्छन् तिनलाई सुख, शान्ति, समृद्धि, सम्पत्ति, सन्तति, स्त्री आदि प्रदान गर्नुहोस्’ भनी वर मागे । देवीले ती देवताहरुको इच्छा पूरा गर्ने वचन दिई तत्काल त्यहीँ अन्तर्निहित भइन् । भगवान विष्णु प्रलयकालको अन्त्यतिर जब शेषशैयामा योगनिद्रा अवलम्बन गरिरहनु भएको थियो तब उहाँको कानबाट पैदा भएको मल (कानेगुजी) बाट ‘मधु’ र ‘कैटभ’ नाम गरेका दुई बलवान् दैत्य प्रकट भए र तिनीहरुले जलमा विचरण गर्दै गएर भगवानको नाभिकमलमा रहनुभएका ब्रह्माजीलाई मार्न उद्यत भए। यसबाट चिन्तित भई शयन गरिरहनुभएका भगवान विष्णुलाई जगाउने उद्देश्यले ब्रह्माजीले भगवानको नेत्रादि स्थानमा निवास गर्ने योगनिद्राको विभिन्न नामले स्तुति गर्दै सबै वर्ण (अक्षर) हरूको माध्यमले “उदात्त, अनुदात्त, स्वरित सबै स्वरहरूले परिपूर्ण भएकी जीवनदातृ अ उ म (ॐ) विन्दुरूप सन्ध्या, सावित्री तथा सृष्टि प्रलय रूपिणी महाविधा सत्य, रज, तम, कालरात्री, महारात्री, श्रीईश्वरी, बोधस्वरूपिणी, वुद्धि, लज्जा, तुष्टी, पुष्टी, शान्ति, खड्ग, धुल, धारिणी, घोररूपा, गदा, चक्र, शंख, धनुवाण, भुसुण्डी, परिध, सर्वस्वरूप, सत, असत आदि सम्पूर्ण प्राणीहरूकी शक्ति स्वरूपी हे देवी मेरो रक्षा गर्न नारायण भगवान विष्णुलाई जगाई देउ भनी स्तुति गरे पश्चात भगवती प्रकट भईन” भनिएको छ ।
त्यसपछि तमोगुणकी अधिष्ठात्री ती योगनिद्रा देवी भगवान विष्णुको आँखा, मुख, नाक, बाहु, हृदय र वक्षःस्थलबाट निस्किएर ब्रह्माजीको अगाडि उपस्थित भइन् भने यता भगवान विष्णु पनि योगनिद्राबाट मुक्त भई शेषशैयाबाट उठ्नुभयो। त्यसपछि ब्रह्माजीको वध गर्न तम्सिएका दुरात्मा मधु र कैटभसित युद्ध गर्न थाल्नुभयो ।
भगवान विष्णु र मधु र कैटभबीच पाँच हजार वर्षसम्म बाहुयुद्ध चल्यो तर दुवैको हारजित हुन सकेन । भगवान विष्णुलाई यसरी लामो समयसम्म युद्धमा अल्मल्याउन सकेकोमा ती दुई दैत्यहरु आफ्नो बलप्रति उन्मत्त भए । त्यसैबेला महामायाले तिनलाई आफ्नो मोहजालमा फसाइन्। त्यसपछि बलले उन्मत्त ती दैत्यले भगावन् विष्णुलाई ‘हामी तिम्रो वीरताबाट प्रसन्न छौँ । अतः तिमीलाई केही इच्छा छ भने वर माग, हामी दिन तयार छौँ’ भने । मौकाको सदुपयोग गर्दै भगवान विष्णुले भन्नुभयो– ‘तिमीहरुजस्तो बलवान्सँग अरु सानोतिनो कुरा के मागौँ । यदि मसँग साँच्चै प्रसन्न छौ भने मेरा हातबाट तिमीहरु मर !’ यसप्रकार महामायाको प्रभावमा परेका ती दैत्यले आफ्नो वचन पूरा गर्न विष्णुले मागेबमोजिमको वर दिए ।
त्यसपछि भगवान विष्णुले तिनलाई उनीहरुको इच्छाबमोजिम जल नभएको सुख्खास्थान अर्थात् आफ्नो तिघ्रामा राखेर चक्रले संहार गर्नुभयो । ती दुई मृत दैत्यको मेद (बोसो) बाट यो पृथ्वी उत्पन्न भएको हुँदा पृथ्वीको एक नाम ‘मेदिनी’ पनि भनिन्छ ।
previous post
