AdvisorCreativesEducationEntertainmentLearning MaterialsLifestyle

सावित्रीको सोमबार

हरेक वर्ष जस्तै यस वर्षको दसैँ पनि सुरु भएको छ । सधैँको सोमबार सावित्री उठेर नहाइधुवाइ सकेर नजिकको मन्दिरमा भगवान शिवको दर्शन गर्न जान्थिन् । तर आज सधैँ मानिने सोमबार भन्दा यो सोमबार सावित्रीको लागि अलि फरक छ । आज नवरात्रीको सोमबार सावित्री बिहान सबेरै उठिन् । यस सोमबार दुर्गा पूजा आरम्भ भएको चौथो दिन थियो । घर सरसफाइ गरिन् । आँगन बढारिन् । धारामा गएर नुहाइन् । पूजापाठको लागि सामाग्री तयारी गरिन् । त्यतिबेला सम्म उनका श्रीमान् उठेर नुहाइसकेका थिए ।
उनीहरू निसन्तान दम्पती थिए तर पनि उनीहरू खुसी नै थिए । समाजसेवी पनि थिए । गाउँका केटाकेटीहरूलाई आफ्नै सन्तान जस्तै गरी माया गर्थे । गाउँमा धेरै सहयोग पनि गर्थे । दसैँको बिदा भइसकेकाले सावित्री घरकै काममा मात्र व्यस्त थिइन् । सावित्रीको श्रीमानले घट्स्थापनाका दिनदेखि नै जमरा राखेर दुर्गा देवीको पूजाअर्चना गर्दै आइरहेका थिए । श्रीमानले पूजा कक्षमा गएर पूजा गर्दै चण्डी पाठ वाचन गर्न थाले । सावित्री भने अलि हतारमा मन्दिर दर्शन गरी आइन् किनभने उनलाई समयमै दुर्गा पूजाको नैबेद्य पनि तयार गर्नु छ । सावित्रीले गोठको धन्दा गर्न थालिन् । गाईलाई पानी पराल दिइन् र खोरबाट बाख्रा र खसी निकालेर किलामा बाँधिन् । हिजो बाखा्र चराउँदा ल्याएको घाँस डोरीमा बाँधी झुन्ड्याइन् । गोठको धन्दा सकेर उनी हात खुट्टा धोइन् ।
भित्र भान्सामा पसेर पूजाको लागि नैवेद्य पकाउन लागिन् । सावित्री भान्सामा पूजाको लागि ैवेद्य तयार गर्दै थिइन् । त्यसैबेला खसी एकोहोरो कराउँदै थियो । खसी कराएको सुनेर भित्रैबाट सावित्री “ किन कराको यो ध्वासे? खुरु खुरु घाँस नखाएर ¤” “धेरै नकरा न घाँस खा ।” यत्तिकैमा सावित्रीले नैवेद्य बनाइसकेर पूजा कोठामा पु¥याइन् र उनी बाहिर आइन् । ध्वासे खसी किन कराएको भन्ने कारण बल्ल थाहा पाइन् । किलाबाट सेती बाख्री फुस्किएर नजिकै रहेको करेसाबारीमा गएछ । करेसाबारी भएको तरकारीका बिरुवाहरू सबै खादैँ रहेछ । उनी ह्स्याङ्फस्याङ् गर्दै बारीमा हामफालिन् । च्याप्प सेती बाख्रीको घाँटीमा समातेर तान्दै आगँनको डिलमा ल्याइन् । उनका श्रीमान पनि पूजा सकेर आँगनमा मात्र आइपुगेका थिए । सावित्री रिसाउँदै “यसलाई त आज दिनभरी खोरको खोरमै भोकै थुनेर राख्छु । केही पनि खान दिन्न ।” आँगनबाट पनि तान्दै जर्बजस्ती खोरतिर लान्छिन् । उनका श्रीमानले भने “ के गरेकी ? किन यसलाई खोरमा लगेकी?” (खोरमा थुन्दै) “ देख्नुभएन किलाबाट फुत्किएर करेसाबारीको तरकारीका बिरुवा जति सबै खाएछ । मरेको डाम्नोले ¤” फत्फताउँदै आँगनतिर आइन् । करेसाबारीतिर आँखा लगाउँदै “सबै भसक्कै बनाएछ ।” उनका श्रीमानले सम्झाउँदै भने “जे नहुनु थियो त्यो त भै नै हाल्यो, अब कराएर बाख्रीलाई भोकै राखेर केही हुन्न बरु झिकेर किलामा राम्रोसँग बाँधिदेउ ।”
सावित्री धारामा हात खुट्टा धोएर भित्र गइन् । थालीमा भएको टीका प्रसाद लगाइन् । एकछिन् शान्त भइ भान्साकोठामा काम गरिन् । खाना बनाइसकेर गाइलाई घाँस काट्न जान लागिन् । सेती बाख्री एक्लै खोरमा भएकाले बेला बेलामा म्या म्या गरिरहेको थियो । त्यतिबेलासम्म उनको सेती बाख्रीप्रतिको रिस शान्त भइसकेको थियो । डोको बोक्दै सोचिन् “फेरि सेती भोकै हुने होला ।” डोको भुईँमा राखेर उनी खोरतिर गइन् । खोरबाट सेती बाख्रीलाई निकालिन् र किलोमा राम्रोसँग बाँधिदिइन् । श्रीमानलाई घाँस काट्न जान आग्रह गरिन् । उनी र उनका श्रीमान दुबै जना गाईलाई घाँस काट्न बारीमा गए । श्रीमानले टाँकीको घाँस काटे भने श्रीमतीले कान्लाको मसिनो घाँस डोका भरी काटिन् । दुबै जना घाँसका भारी बोकेर घर आए । गाईलाई घाँस हालिदिए । बाख्रालाई पनि टाँकीको घाँस दिए । धारामा हातखुट्टा धोएर एकछिन् पिँढीको खाटमा थकाइ मारे ।
यतिबेलासम्म बिहानको साढे एघार बजिसकेको थियो । उनीहरूले खाना खाए । खाना खाइसकेर सावित्री जुठाधन्दा गर्न थालिन् । उनीको श्रीमान पिँढीनिरको खाटमा बसेर पात्रो हेर्न थाले । त्यतिकैमा तल्लाघरे ठुलोकान्छो आए । ठुलोकान्छो सहरबाट हिजो मात्र आएका रहेछन् । दुबै जना गफ गर्न थाले । गफमा पनि यस्तै यस्तै दिनचार्यकै बारेमा गर्दै थिए । उनका श्रीमानले ठुलाकान्छाको पढाइ अनि बसाइ के कस्तो छ भनि सोध्दै थिए । घर छेउको बाँझो जमिनमा पिङ हालिएको थियो । गाउँका केटाकेटीहरू जम्मा हुँदै पिङ् खेलिरहेका थिए । यतिकैमा माथिल्लो घरको साँइला दाइ पनि आए । गाउँकै अरु चार जना पनि आए । उनको पिढीँको खाट भरियो । सबै जना गाउँको विकासका लागि गफगाफमा व्यस्त देखिन्थे ।
दसैँको समय भएर होला रमाइलो रमाइलो गफ गर्दै हाँसिरहेका थिए । दसैँको बेला भएर होला गाउँमा अलि चहलपहल बढेको थियो । सावित्रीले धन्दा भ्याइन् र श्रीमानलाई “ सुन्नुहोस् त अब म गाई र बाख्रा लिएर चाराउन जान्छु, हजुर घरतिर हेर्नुहोला है ।” भन्दै गाई फुकाइन्, गाईको बाच्छा पनि फुकाइन् अनि बाख्रा पनि फुकाइन् । सबैलाई यता उता छेकी छेकी बाटोतिर सोझ्याइन् । हातमा हसिँया र नाम्लो लिएर गाई र बाख्राको पछि पछि लागिन् । जङ्गल नजिकै भएकाले धेरै पर पनि लानु पर्दैनथ्यो । गाईबाख्रा जङ्गलतिर चर्न थाले र उनी चाहीँ भोलि बिहानको लागि बाख्रालाई चाहिने घाँस काट्न थालिन् । साझँपख मात्र गाईबाख्रा घरमा ल्याएर बाँधिन् । गाईको दूध दोएर बेलुकाको धन्दा गर्न थालिन् । श्रीमान्ले गाईको दूध आफूलाई चाहिने राखेर बाँकी डेरीसम्म पु¥याए । सावित्रीले बेलुकाको खाना तयार गरिन् । नवरात्रीको समयमा उनको घरमा अघिपछिको समयमा भन्दा पनि चोखो खाना तयार थियो । श्रीमान डेरीबाट फर्किए । सावित्रीले श्रीमानलाई खाना खान बोलाइन् । दुबै जना खाना खाए र ओछ्यानमा गएर आराम गरे ।

Related posts

Lighting the Legacy: Celebrating Nepal Sambat 1146

admin

Essay on the Democracy of Nepal

admin

How does the gap between academia and industry hinder and mislead the transformation of universities in Nepal?

admin

Leave a Comment